काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र हाल देखिएका मतभेदलाई लक्षित गर्दै कसैले पनि राप्रपा विभाजन गर्ने शक्ति नरहेको दाबी गरेका छन्। उनका अनुसार पार्टी विभाजन गर्नुपर्ने कुनै कारण अहिले छैन र अब राप्रपा कहिल्यै विभाजित हुनेछैन।

अध्यक्ष लिङ्देनले हालै अनुशासन समिति अध्यक्ष नवराज सुवेदी, प्रवक्ता सगुनसुन्दर लावती (असार २५ गते) र उपाध्यक्ष तथा केन्द्रीय सदस्य मुकुन्दश्याम गिरी (साउन २ गते)लाई पदमुक्त गरेका थिए। स्पष्टीकरणको अवसर नदिई पदबाट हटाइएका तीनै जनाले निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन्, जसमा आयोगले राप्रपालाई स्पष्टीकरण मागेको छ।

advertisement

यसबीच, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवल शम्शेर राणा, कुन्तिकुमारी शाहलगायतका नेताहरूले विज्ञप्ति जारी गरी पदमुक्त गर्ने निर्णय फिर्ता लिन माग गरेका छन्। उनीहरूले अध्यक्षमाथि फरक विचार राख्नेहरूलाई जिम्मेवारीविहीन बनाउन खोजेको आरोप लगाएका छन्।

तर लिङ्देनले पदाधिकारीको जिम्मेवारी हेरफेर अध्यक्षको अधिकारभित्र पर्छ भन्दै त्यसमा असहमति भए पार्टी बैठकमा उठाउन सकिने तर शुभेच्छुकमा भ्रम फैलाउने गतिविधि नगर्न आग्रह गरेका छन्। “चित्त नबुझेको मात्र कारण देखाएर पार्टी फुट्छ जस्तो गर्ने प्रवृत्ति अब समाप्त भएको छ,” लिङ्देनले भने, “यो विषय हामी पार्टीभित्रै टुंग्याउँछौँ।”

उनका अनुसार पार्टीभित्र असन्तुष्टि भए महाधिवेशनमार्फत नेतृत्वलाई नै चुनौती दिन सकिन्छ। विधानअनुसार राप्रपाको महाधिवेशन चार वर्षमा हुने भए पनि एक वर्ष म्याद थप गरेर आगामी वर्ष गर्ने तयारी छ।

हाल देखिएको विवाद महाधिवेशन तयारीसँग सम्बन्धित भएको नेताहरूको भनाइ छ, विशेषतः अध्यक्ष लिङ्देन र महामन्त्री धवल शम्शेर राणाबीच विभिन्न विषयमा मतभेद देखिएको छ। लिङ्देनले आन्तरिक विषय सञ्चारमाध्यममा लैजानु र शुभेच्छुकलाई भ्रममा पार्नु अनुचित भएको दोहोर्याए।

“पार्टी समान विचार भएका मानिसहरूको संगठित संस्था हो। विवाद भए कमिटीमा छलफल गर्ने, निर्णयलाई मान्ने, अल्पमतमा परे महाधिवेशनमा टुंगो लगाउने प्रक्रिया खुला छ। तर बाहिर प्रचार गरेर भ्रम सिर्जना गर्नु उचित होइन,” उनले भने।

लिङ्देनले पदाधिकारी हेरफेरको निर्णय विधानअनुसार भएको जिकिर गर्दै भने, “अध्यक्षलाई समिति गठन गर्ने, जिम्मेवारी बाँडफाँड गर्ने, पदाधिकारी तथा सदस्यलाई जिम्मेवारी तोक्ने अधिकार छ। यो नयाँ कुरा होइन, विगतमा पनि नियमित रूपमा जिम्मेवारी हेरफेर हुने गरेको हो।”

निर्वाचन आयोगमा परेको उजुरीबारे उनले टिप्पणी गर्दै भने, “राप्रपाको प्रवक्ता को हुने, विभाग प्रमुख वा सचिव को हुने भन्ने विषय आयोगको कार्यक्षेत्रमै पर्दैन। यो पूर्ण रूपमा पार्टीको आन्तरिक विषय हो।”

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com