खोटाङ । साउन २२ गते अचानक घर छाडेर बेपत्ता भएका छ जना बालबालिकामध्ये दुई दिदीभाइ मृत फेला परेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु सापातेलका गोविन्द बस्नेतका ११ वर्षीया छोरी मेनिषा र ६ वर्षका छोरा मेगराज जंगलमा मृत अवस्थामा भेटिएका छन् ।

गोविन्द बस्नेतका दुई छोरी र एक छोरा सहित गाउँका ६ बालबालिका २२ गते बिहानदेखि हराएको खबर आएको थियो । तीमध्ये चार बालबालि सुरक्षित भेटिए पनि मेनिषा र मेगराजको मृत्यु पुष्टि भएको छ । पूर्व वडाध्यक्ष इन्द्रबहादुर बस्नेतका अनुसार, गोविन्दकी श्रीमतीले अर्कैसँग दोस्रो विवाह गरेपछि उनी आफ्ना तीन छोराछोरीसँगै बस्दै आएका थिए ।

advertisement

स्थानीय शान्ति निकेतन माध्यमिक विद्यालयमा कार्यालय सहयोगी रहेका गोविन्दले सामान्यतया छोराछोरीलाई विद्यालयमा आफैं लजाने गरेका थिए। तर २२ गते भने हतारमा छोराछोरीलाई बिस्तारै आउन भनेपछि आफू विद्यालय गएको र बच्चाहरू विद्यालय नजाने हुँदा घरमा नभएको थाहा पाएपछि खोजी सुरु गरेका थिए ।

बालबालिका खोज्दै जाँदा जंगलमा चप्पल र केही दूरीमा मेनिषा र मेगराजको मृत अवस्थामा भेटिएको थियो । उनीहरू हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्माको सिमानास्थित सापातेल–खरुवा खोला जंगल क्षेत्रमा फेला परेका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार, अन्य चार बालबालिका हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट छोरम्बुको साप्सुखोलातर्फ गएर थ्री स्टार हाइड्रोपावरसम्म पुगेर फर्किएका थिए । तर मृतक दुई दिदीभाइले राति ओझेलमा बाटो बिराएर दिप्रुङ चुइचुम्मा–२ डाँडागाउँस्थित खमारेसम्म पुगेपछि स्थानीयले बाटो देखाए पनि घर नपुग्दै भीरबाट लडेर ज्यान गएको स्थानीयहरूको अनुमान छ ।

शरीरभरि घाउ र चोटपटक भएका कारण भीरबाट लडेर निधन भएको ठम्याइएको छ । उनीहरू राति साथीहरूबाट छुटेर बाटो पहिल्याउँदै जाँदा दुर्घटना भएको बुझिएको छ ।

मृत भेटिएपछि गोविन्दले प्रधानाध्यापक र गाउँलेलाई बोलाएर जंगलमै शवसँगै रात बिताएका थिए । अन्य चार बालबालिका भने घटनास्थल नजिकैको ओढारमा सुरक्षित भेटिएका छन् ।

मृतकहरूको शव गाउँमा ल्याएर शुक्रवार नै दाहसंस्कार गरिएको छ । स्थानीयले पनि प्रहरीलाई खबर नगरी दाहसंस्कार गरिएको बताउँदै अनुसन्धान आवश्यक रहेको जनाएका छन् ।

तर घटनाको जानकारी पाएपछि प्रहरीले घटनास्थल सुरक्षित गरी अनुसन्धान सुरु गरेको छ । अप्राकृतिक मृत्यु भएकाले पोष्टमार्टम गरी कारण पत्ता लगाउनुपर्ने कानुनी प्रक्रिया पूरा नगरी दाहसंस्कार गरिएकोले थप छानबिन आवश्यक रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com