दैलेख । चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का दुई युवकहरूलाई १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। घटना शुक्रबार राति तीजको मेलाबाट फर्कँदै गर्दा घटेको हो।
पक्राउ परेकाहरू २५ वर्षीय खगेन्द्र भण्डारी र २४ वर्षीय गोविन्दबहादुर शाही हुन्। जिल्ला प्रहरी प्रमुख गणेश बरालका अनुसार, बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि आरोपीहरूलाई शनिबार बेलुकी पक्राउ गरिएको हो।
बालिका तीजको मेलाबाट साथीहरूसँग फर्कँदै गर्दा जंगल नजिक पुगेपछि आरोपीहरूले लखेटेका थिए। साथीहरू भाग्न सफल भए तापनि उनीहरूले बालिकालाई ढुंगा हानी अचेत बनाए। यसै अवस्थामा दुबैले पालैपालो बलात्कार गरेका थिए।
साथीहरूले गाउँ पुगेर घटनाको जानकारी दिएपछि स्थानीय र अभिभावकहरूले बालिकालाई उद्धार गरे। आरोपीहरूले गाउँलेहरू आएको थाहा पाएपछि बालिकालाई सडक किनारमै छोडेर भागेका थिए।
जिल्ला प्रहरी प्रवक्ता इन्स्पेक्टर लालबहादुर सुनारका अनुसार, बालिकाको उपचार गरिँदै छ भने घटनाबारे थप अनुसन्धान चलिरहेको छ।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार












प्रतिक्रिया