काठमाडौं । युरोपेली मुलुकहरूले अमेरिकालाई रसियासँगको शान्ति वार्तामा युक्रेनको अनिवार्य सहभागिता सुनिश्चित गर्न आग्रह गरेका छन्। उनका अनुसार, किभ (युक्रेन) बिना हुने कुनै पनि वार्ता अथवा सम्झौता स्वीकार्य नहुने स्पष्ट सन्देश दिनुपर्छ।
बेलायत, फ्रान्स, इटाली, जर्मनी, पोल्याण्ड, फिनल्याण्ड र युरोपेली आयोगका शीर्ष नेताहरूले यसबारे संयुक्त वक्तव्य जारी गरेका हुन्। उनीहरूको धारणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी शुक्रबार अलास्कामा तय भएको बैठकअघि आएको हो।
बीबीसीका अनुसार, ह्वाइट हाउसका एक अधिकारीले राष्ट्रपति ट्रम्प युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीलाई समेत सहभागी गराएर त्रिपक्षीय बैठक गर्न इच्छुक भएको बताए। तर हालसम्म पुटिनको आग्रहअनुसार यो बैठक केवल ट्रम्प–पुटिन शिखर वार्ता मात्र हुने भनिएको छ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने स्पष्ट रूपमा चेतावनी दिँदै, किभको सहभागिता बिना गरिने कुनै पनि सम्झौता ‘मृत निर्णय’ हुने बताए। ट्रम्पले पनि यसअघि पत्रकारहरूसँग कुरा गर्दै पुटिन र जेलेन्स्की दुवैको उपस्थितिमा त्रिपक्षीय वार्ता सम्भव रहेको संकेत दिएका थिए।
तर पुटिनले जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न सहमति जनाउने वा नजनाउने विषय अनिश्चित छ। उनले विगतमा बारम्बार यस्तो प्रस्ताव अस्वीकार गर्दै आएका छन्। तीन वर्षभन्दा बढीअघि सुरु भएको युक्रेनमाथिको रुसी आक्रमणपछि दुवै नेताबीच कुनै प्रत्यक्ष भेट भएको छैन।
गत शुक्रबार ट्रम्पले मस्को र किभबीच सम्झौता गराउन ‘भूभाग साटासाट’ हुन सक्ने सम्भावना औंल्याएका थिए। तर, सो भनाइप्रति जेलेन्स्कीले तीव्र आपत्ति जनाउँदै भने, “रुसले गरेका अपराधको पुरस्कार हामी दिन्नौँ। हाम्रो सहभागिता बिना हुने निर्णयहरू शान्तिको विपक्षमा हुनेछन्।”
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार













प्रतिक्रिया