काठमाडाैं । इजराइलको हवाई आक्रमणमा गाजामा कार्यरत कतारी समाचार संस्था अल जजिरा का वरिष्ठ पत्रकार अनस अल शरीफसहित चार जना पत्रकारको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आइतबार पूर्वी गजाको शाइफा अस्पताल नजिकैको टेन्टमा बसेका बेला अल शरीफ, उनका सहकर्मी मोहम्मद कुरिकेह, इब्राहिम जाहर, मोहम्मद नौफल र एक सहयोगी इजराइली बमबारीमा मारिएका हुन्। उक्त आक्रमणमा थप दुई जनाको पनि ज्यान गएको अस्पताल स्रोतले जनाएको छ।
२८ वर्षीय अल शरीफ गाजामा इजराइली हमला र मानवीय संकटबारे निरन्तर रिपोर्टिङ गर्दै आएका थिए। इजराइली सेनाले हवाई आक्रमणबाट उनको मृत्यु भएको पुष्टि गर्दै उनलाई हमासको सेल प्रमुख तथा इजराइली नागरिक र सैनिकमाथि रकेट प्रहार गराउने जिम्मेवार व्यक्ति भएको दाबी गरेको छ। साथै, यस सम्बन्धमा गाजाबाट गोप्य कागजात बरामद गरेको पनि जनाएको छ।
तर अल जजिरा र अन्तर्राष्ट्रिय पत्रकार संघ–संस्थाहरूले यस आरोपको कडा खण्डन गर्दै अल शरीफलाई युद्ध रिपोर्टिङकै कारण लक्षित गरी हत्या गरिएको बताएका छन्। प्रेस स्वतन्त्रता निगरानी संस्था CPJ (Committee to Protect Journalists) की मध्यपूर्व तथा उत्तर अफ्रिका निर्देशक सारा कुदाहले प्रमाणबिनै पत्रकारलाई लडाकूको रूपमा चित्रित गर्ने इजराइलको प्रवृत्तिले प्रेस स्वतन्त्रताप्रति उसको सम्मानमाथि गम्भीर प्रश्न उठाएको बताइन्।
अल शरीफको एक्स (पूर्व ट्विटर) खातामा पाँच लाखभन्दा बढी फलोअर्स छन्। आक्रमण हुनुअघि केही मिनेटअघि उनले गाजा सिटीमा दुई घन्टाभन्दा लामो भीषण बमबारी भइरहेको जानकारी पोस्ट गरेका थिए। अल जजिरा का अनुसार उनले आफूको मृत्यु भएमा प्रकाशित गर्न भन्दै सामाजिक सञ्जालमा सन्देश छोडेका थिए—
“सत्य उजागर गर्न म कहिल्यै हिचकिचाइनँ। सत्यलाई जस्ताको तस्तै प्रस्तुत गरेँ। मौन बस्नेहरूलाई ईश्वरले देख्नेछन्।”
गाजा सरकारको सञ्चार कार्यालयका तथ्यांक अनुसार २०२३ अक्टोबर ७ यता २३७ पत्रकार मारिएका छन्, भने पत्रकार संरक्षण समितिको विवरणमा यो संख्या कम्तीमा १८६ रहेको उल्लेख छ।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार













प्रतिक्रिया