काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राखिएको रूपन्देही कारागारको मानव अधिकार स्थिति जाँच्न मानव अधिकार आयोगको टोलीले अनुगमन गरेको छ। आयोगकी सदस्य लिली थापाको नेतृत्वमा गएको टोलीले आज गरेको अनुगमनले कारागारमा रहेका बन्दीहरुको दयनीय अवस्था उजागर गरेको छ।
अनुगमनपछि आयोगकी सदस्य थापाले रूपन्देही कारागारको क्षमता २५० रहेको भए पनि यहाँ अहिले करिब ७०० जना कैदी राखिएको र यसले बन्दीहरुको मानव अधिकारमा ठूलो सङ्कट उत्पन्न गरेको बताइन्।
रवि लामिछानेलाई छुट्टै कोठामा राखिए पनि त्यहाँ एउटा झ्याल प्लाईवुडले बन्द गरिएको छ। सुरक्षाको कारणले सर्पको जोखिम रहेको भन्दै यस्तो व्यवस्था गरिएको भए पनि आयोगले झ्याल खोल्न आग्रह गरेको छ।
थापाले भनिन्, “झ्यालमा कपडाले बारिएको छ, हामीले तत्काल खोल्न भनेका छौँ।”
उनले भनिन्, “त्यही कोठामा बाथरुम र ट्वाइलेट रहेको छ तर सुरक्षा कारणले लामिछानेलाई बाहिर घुमफिर गर्न दिइएको छैन। जेल प्रशासनले कैदीको सुरक्षा जिम्मा पाएको हुनाले यसमा सुधार गर्नुपर्नेछ।”
थापाका अनुसार लामिछानेले आफूलाई सीमा क्षेत्रको जेलमा सार्न आग्रह गरेका थिए, जसलाई अदालतले अनुमति पनि दिइसकेको थियो, तर सरकारले अझै पनि जेल सार्न रोक लगाएको छ। यसले पनि उनको मानव अधिकारको उल्लंघन भएको देखिन्छ।
“दुई वटा पंखा मात्रै रहेको कोठामा राखिनुले मानव अधिकारको प्रत्याभूति हुँदैन,” थापाले भनिन्।
यसैगरी, टोलीले अन्य कैदीहरूको अवस्था पनि हेरेको थियो जहाँ उनीहरूको स्थिति पनि अत्यन्तै खराब र मानव अधिकारमाथि प्रहार भएको पाइयो।
रवि लामिछाने हाल सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा जेलमा छन् र आफूलाई ‘राजनीतिक बन्दी’ भएको दाबी गर्दै आएका छन्।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया