काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले सात भ्रातृसंस्थाका महाधिवेशन गर्न नसकेको विषयमा महाधिवेशन निर्देशन समितिसँग छलफल गरिरहेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्माले उक्त समितिका पदाधिकारीहरूसँग भेटवार्ता गरिरहेका छन्।
कांग्रेसले भ्रातृसंस्थाहरूको महाधिवेशन प्रभावकारी रूपमा सञ्चालन गर्न केन्द्रीय समितिबाट तीन नेताको समावेशी महाधिवेशन निर्देशन समिति गठन गरेको छ। तर, नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ, नेपाल दलित सङ्घ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल थारू सङ्घ र नेपाल किसान महासंघलगायत सात भ्रातृसंस्थाले पटक–पटक म्याद थप गर्दा समेत महाधिवेशन सम्पन्न गर्न सकेका छैनन्।
निर्देशन समितिका संयोजकहरूमा तरुण दल सहमहामन्त्री महालक्ष्मी उपाध्याय, नेविसंघ सहमहामन्त्री किशोरसिंह राठोर, महिला सङ्घ प्रवक्ता डा. प्रकाशशरण महत, दलित सङ्घ सहमहामन्त्री जीवन परियार, किसान महासंघ केन्द्रीय सदस्य रमेश रिजाल, लोकतान्त्रिक खेलकुद सङ्घ केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र थारू सङ्घ केन्द्रीय सदस्य उदयशम्शेर राणा रहेका छन्।
गत असार १६ देखि २३ गतेसम्म बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले म्याद थप्ने अन्तिम निर्णय गर्दै निर्देशन समितिलाई महाधिवेशन सम्पन्न गर्ने पूर्ण जिम्मेवारी प्रदान गरेको थियो। पार्टीले निर्देशन समितिलाई आवश्यक कार्यादेश उपलब्ध गराउने पनि निर्णय गरेको छ।
सभापति देउवा, उपसभापति खड्का र महामन्त्री शर्माबीच शुक्रबार यस विषयमा छलफल भएको छ भने आजको बैठकपछि निर्देशन समितिलाई औपचारिक कार्यादेश पत्र प्रदान गरिने तयारी भइरहेको छ।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया