काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले विदेशमा बस्ने ब्रिटिस गोर्खाका सन्तानहरूको नागरिकता सम्बन्धी समस्या प्रति सरकारले गम्भीर ध्यान दिनुपर्ने बताएका छन्।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमबारको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकबारे छलफल गर्दा सुवेदीले ब्रिटेनमा बसेका गोर्खाका छोराछोरीहरूले त्यहाँको परिचयपत्र लिँदा नेपालमा नागरिकता नपाउँदा उनीहरूलाई आफ्नो सम्पत्ति प्रयोग गर्न समस्या हुन सक्ने चिन्ता व्यक्त गरे।
उनले भने, “ब्रिटिस गोर्खाका सन्तानहरू त्यहाँ पढिरहेका छन् र परिचयपत्र पनि लिएका छन्। भविष्यमा आमाबुवाको निधन भएपछि नागरिकता नहुँदा नेपालमा रहेको सम्पत्तिमा पहुँच गुम्न सक्ने सम्भावना छ। यस विषयमा सरकारले संवेदनशील भएर काम गर्न आवश्यक छ।”
सांसद सुवेदीले नागरिकतासम्बन्धी कानून लैङ्गिक समावेशीकरणको आधारमा बनाइनुपर्ने र महिलाहरूलाई अप्ठ्यारो नपरोस् भन्नेतर्फ सचेत रहनुपर्ने सुझाबसमेत दिएका छन्।
उनले नागरिकताको विषयमा ‘स्वघोषणा’ र ‘अङ्गीकृत नागरिकता’ बीच भेदभाव नगर्नुपर्नेमा जोड दिँदै, विधेयकमा आवश्यक सुधार गर्न सरकारलाई आग्रह गरे।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया