काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँ दिल्लीबीच सिधा उडान सञ्चालन गराउन आफू सबै तहबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
सोमबार मन्त्रालयमा बाँके जिल्लाका प्रमुख राजनीतिक दलका नेता, संघीय संसदका बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूसँग भेटघाटका क्रममा उनले यस विषयमा विशेष जोड दिइन्।
मन्त्री राणाले भनिन्, “नेपालगञ्जदेखि नयाँ दिल्लीसम्मको उडानको माग मैले पहिलेदेखि नै उठाउँदै आएको छु। यो हाम्रो प्राथमिकता हो। सिधा उडानले नेपाल र भारतबीचको कनेक्टिभिटीलाई मजबुत बनाउनेछ र त्यसबाट दुवै देशलाई आर्थिक तथा सामाजिक फाइदा हुनेछ।”
उनले थपे, “पर्यटन, व्यापार, जनसम्पर्क र पारवहन क्षेत्रमा सुधार र वृद्धि कनेक्टिभिटीले मात्र सम्भव छ। यसले पश्चिम नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ र सो क्षेत्रको समग्र छवि परिवर्तन गर्नेछ।”
नेपालगञ्जमा आधुनिक होटल तथा पर्यटन पूर्वाधारहरु निर्माण भइसकेको हुँदा यस उडानले त्यहाँको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याउने मन्त्री राणाको भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीको क्रममा बाँके र बर्दियाका विभिन्न क्षेत्रका प्रतिनिधिहरूले सिधा उडानलाई प्राथमिकता दिएर समावेश गर्न मन्त्री राणालाई आग्रह गरेका छन्। मन्त्रीले उक्त अनुरोधलाई गम्भीरतापूर्वक अघि बढाउने प्रतिवद्धता जनाएकी छन्।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया