काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनका केही पदाधिकारीहरूको गतिविधि र अभिव्यक्तिप्रति कडा असन्तुष्टि जनाएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै उनले पार्टीका सम्मानित नेताको नाममा स्थापित संस्थाहरूले आफ्नो मूल उद्देश्य र आदर्श नबिर्सन चेतावनी दिए। ओलीले यस्ता प्रतिष्ठानहरू ‘ठगी खाने भाँडो’ बन्न नहुनेमा जोड दिँदै भने, “पार्टीका नेताको नाममा स्थापना भएका संस्थाहरू सही बाटोमा हिँड्नुपर्छ। साँच्चिकै काम गर्छ कि केवल लाभको साधन बन्छ भन्ने प्रश्न गम्भीर छ।”

advertisement

उनका अनुसार नेताहरूको नाममा बनेका संस्थाहरू सामूहिक भावना र आदर्शमा आधारित हुनुपर्छ। उनले मदन भण्डारी फाउन्डेसन पार्टीको आधिकारिक संरचना नभई केही व्यक्तिहरूको पहलमा बनेको संस्था भएको स्पष्ट पारे। “यो पार्टीले होइन, हामीले मिलेर स्थापना गरेको हो,” उनले स्मरण गराए।

ओलीले मदन–आश्रित स्मृति प्रतिष्ठानको स्थापना इतिहाससमेत खुलाउँदै भने, “एक समय मदन भण्डारी र जीवराज आश्रितको जन्मदिन मनाउनसमेत रोक लगाइने अवस्था थियो, त्यसपछि यो प्रतिष्ठान बनाउनु परेको हो।”

फाउन्डेसनका पदाधिकारीको ताजा अभिव्यक्ति र मातहत सञ्चालनमा रहेको अनलाइन मिडियाको कार्यशैलीप्रति इङ्गित गर्दै उनले संस्थाको भविष्यबारे शंका व्यक्त गरे। “आगामी दिनमा मदन भण्डारी फाउन्डेसन कुन दिशातर्फ जान्छ, त्यो भने हेर्न बाँकी छ,” ओलीले टिप्पणी गरे।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com