काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनका केही पदाधिकारीको गतिविधि र अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्बोधन गर्दै ओलीले पार्टीका सम्मानित नेताको नाममा स्थापित संस्थाहरू आफ्नो मूल उद्देश्य र आदर्शबाट विचलित हुन नहुने चेतावनी दिए। उनले भने, “साँच्चिकै जनहितमा काम गर्ने कि ‘ठगी खाने भाँडो’ बन्ने, यो जाँच गर्न जरुरी छ।”

advertisement

अध्यक्ष ओलीका अनुसार यस्ता प्रतिष्ठानहरू सामूहिक स्वरूपमा सञ्चालन भई नेताको आदर्श र सिद्धान्तको अनुकरण गर्नुपर्ने हुन्छ। उनले फाउन्डेसन पार्टीको पहलमा नभई केही व्यक्तिहरूको मिलेमतोमा स्थापना भएको स्पष्ट पार्दै भने, “मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन, हामी मिलेर बनाएको हो।”

मदन–आश्रित स्मृति प्रतिष्ठानको स्थापना पृष्ठभूमि स्मरण गर्दै ओलीले एक समय मदन भण्डारी र जीवराज आश्रितको जन्मदिनसम्म सार्वजनिक रूपमा मनाउन नपाउने वातावरण बनेपछि यस्तो संस्था आवश्यक भएको बताए।

फाउन्डेसनका पदाधिकारीको अभिव्यक्ति र त्यस मातहत सञ्चालित अनलाइन प्लेटफर्मको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले भविष्यमा फाउन्डेसनको कार्यदिशा कस्तो हुने हो भन्नेबारे शंका व्यक्त गरे। “आगामी दिनमा यो संस्था कसरी अघि बढ्छ, त्यो भने हेर्न बाँकी छ,” ओलीको भनाइ थियो।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com