काठमाडौं । सभामुख देवराज घिमिरेले ‘कुलिङ पिरियड’ सम्बन्धी प्रतिवेदनमा देखिएको त्रुटिबारे उच्चस्तरीय छलफल गरेका छन्।
सोमबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा उनले सत्तारूढ नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग विचार–विमर्श गरेका हुन्।
छलफलमा सभामुख घिमिरेले समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्दै राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई द्रुत गतिमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। समितिमा थुप्रै महत्वपूर्ण विधेयकहरू विचाराधीन रहेको स्मरण गराउँदै उनले दलहरूलाई साझा धारणा बनाउन आग्रह गरे।
समितिको कामलाई प्रभावकारी बनाउन हालै सहसचिव कान्छा दुलाललाई नयाँ सचिवको जिम्मेवारी दिएको जानकारी दिँदै उनले अब लामो समयसम्म काम रोक्न नहुने स्पष्ट पारे।
बैठकमा सहभागी नेताहरूले पनि प्रमुख दलहरूको सुझावका आधारमा प्रतिवेदन सम्बन्धी निर्णय गर्न सभामुखलाई सिफारिस गरेका छन्।
यसअघि, गत शुक्रबार सभामुख घिमिरेले सचिवालयका कानून सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्यव्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे परामर्श लिएका थिए।
सभामुखले भोलिसम्म विभिन्न पक्षसँग छुट्टाछुट्टै सुझाव संकलन गरेर त्यसपछि संयुक्त बैठकमार्फत अन्तिम निष्कर्षमा पुग्ने तयारी गरेका छन्।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया