काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक कार्यक्रमहरूमा नेताहरूको भाषण दौरान कार्यकर्ताहरूले अनुशासन भङ्ग गरी बीचैमा उठेर हिँड्ने र हो-हल्ला गर्ने प्रवृत्तिप्रति व्यंग्य गरेका छन्।

सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठानको पदस्थापन कार्यक्रममा ओलीले आफू बोल्दा सहभागीहरूले शान्त र अनुशासित भएर बसेकोमा खुशी व्यक्त गर्दै आजकाल यस्तो अनुशासन दुर्लभ भएको बताए।

advertisement

उनले भने, “मलाई खुसी लागेको छ, कोही पनि बीचमा उठेर हिँडेको छैन।” साथै नेपालका राजनीतिक कार्यक्रमहरूमा देखिने अनुशासनहीनताको तुलना धार्मिक कथासँग गर्दै उनले भने, “श्रीमद्भागवत कथामा त कथा भइन्जेलसम्म हात जोडेर बसेका हुन्छन्, तर यहाँ त बोल्नेले बोलिराख्छ, कोही बाहिर निस्किन्छ, अर्काे झुण्ड गफ गरिरहन्छ।”

कार्यक्रम सञ्चालकलाई बारम्बार ‘कमरेडहरू बसिदिनुस् न, एकछिन’ भन्दै आग्रह गर्नुपर्ने अवस्था रहेको पनि ओलीले सुनाए।

उनले पार्टीमा ‘मन लाग्यो बसे, मन लाग्यो उठ्यो र हिँड्यो’ जस्ता व्यवहार हुन थालेको भन्दै कार्यकर्ताहरूमा धैर्यता र अनुशासनको कमी देखिएको टिप्पणी गरे।

अन्त्यमा, लामो भाषण धैर्यपूर्वक सुनेकोमा सहभागीहरूलाई धन्यवाद दिंदै ओलीले उक्त कार्यक्रमलाई ‘सत्संग’ समान उदाहरण दिदै यहाँको अनुशासनले आफूलाई उत्साहित बनाएको बताए।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com