बुटवल । सहकारी ठगी मामिलामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो बराबरको धरौटी रकम बुझाएर रिहा हुन खोजेका थिए, तर उनको प्रयास असफल भएको छ।
रुपन्देही जिल्ला अदालतले सोमबार लामिछानेको निवेदनमाथि सुनुवाइ गरी ‘माग बमोजिम नहुने’ आदेश जारी गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको छ।
लामिछानेले सुप्रीम सहकारी ठगी मुद्दामा तोकिएको बिगो रकम तिरी रिहा हुने अनुरोध गर्दै निवेदन दिएका थिए, तर अदालतले यो निवेदन अस्वीकृत गरेको हो।
यस निर्णयपछि लामिछानेका कानुन व्यवसायीहरूले उच्च अदालतमा पुनरावेदन दिने तयारी थालेका छन्।
उनका अधिवक्ता महेन्द्र पाण्डेले भने, ‘जिल्ला अदालतको आदेश हामीलाई असन्तोषजनक छ, त्यसैले पुनरावेदन गर्ने निर्णय गरेका छौँ। सम्भवतः एक साताभित्रै उच्च अदालतमा मुद्दा दायर गर्नेछौँ।’
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया