काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गरेका छन्।
आज (अगस्ट १२) को दिन सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले युवाहरूको योगदान, अधिकार र अवसरलाई सम्मान गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् १९९९ मा यो दिवस घोषणा गरेको र पहिलोपटक सन् २००० मा मनाइएको स्मरण गराएका छन्। उनका अनुसार, युवा दिवसले सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा युवालाई सशक्त बनाउन प्रेरणा दिएको छ।
प्रधानमन्त्री ओलीले युवाको ऊर्जा, सिर्जनशीलता र सपना नै राष्ट्रको उज्ज्वल भविष्यको आधार भएको उल्लेख गर्दै, “हाम्रो सकारात्मक सोच, निरन्तर प्रयास र एकताबद्ध व्यवहारले मुलुकलाई समृद्ध बनाउन सकिन्छ,” भनेका छन्।
नेपालमा राष्ट्रिय युवा परिषद्को पहलमा सन् २०१६ (२०७३ साल) देखि औपचारिक रूपमा युवा दिवस मनाउन थालिएको हो। यस वर्ष पनि नेपालसहित विश्वका विभिन्न मुलुकमा यो दिवस विविध कार्यक्रमसहित मनाइँदै छ।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया