मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पार्टीभित्र बढ्दो आन्तरिक विवादबीच संसद् सामु विश्वासको मत लिनका लागि तयारी गरिरहेका छन्।
कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछानेका अनुसार मुख्यमन्त्री बानियाँले संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गरेर अघि बढ्ने योजना बनाएका छन्। पार्टीको निर्देशअनुसार पहिला विश्वासको मत लिने र त्यसपछि बाँकी विषयमा सहकार्य गर्ने रणनीति अनुसार उनी अघि बढिरहेका हुन्।
उनले भने, “संसदको कार्यसूची तयार भइसकेको छ र साझेदार दल पनि यस प्रक्रियामा सहमत छन्। सभामुखसँग सहकार्यमा विश्वासको मत प्रस्ताव अगाडि बढाउने कार्यव्यवस्था परामर्श समितिको बैठक भइसकेको छ। अब यो प्रक्रिया स्थगित वा फिर्ता हुने अवस्था छैन। पार्टी सभापतिको निर्देशन अनुसार पहिले विश्वासको मत लिएर बाँकी विषयमा छलफल गरिने छ, त्यसैअनुसार मुख्यमन्त्री अघि बढिरहेका छन्।”
पार्टीले उठाएका मागलाई सम्बोधन गर्ने सकारात्मक संकेत देखिँदा पनि निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्ष काठमाडौँ बहिस्कारमा उत्रिएको उनले बताए। पार्टीको निर्देशन र ह्वीपको पालना गर्दै अनुशासन तोड्नु उपयुक्त नरहेको उनको भनाइ थियो।
अतीतमा सन्तुलनमा ध्यान नदिई आफू अनुकूल मन्त्री नियुक्त गरेको कारण अहिलेको विवाद उत्पन्न भएको बताउँदै उनले पार्टी र संसदीय दलबीच माग सम्बोधनका लागि छलफल भइरहेको बेला तत्काल निर्णय लिन खोज्नु उचित नरहेको उल्लेख गरे।
संसदीय दलका सचेतक कञ्चनचन्द्र बादेका अनुसार पनि मुख्यमन्त्री बानियाँ निर्धारित समयमा नै विश्वासको मत लिने तयारीमा छन्। सबै प्रक्रिया पूरा भइसकेको र पार्टीको निर्देशन अनुसार संसदीय दलले ह्वीप जारी गरिसकेको हुँदा सहभागी र अनुपस्थित हुनुले अर्थ राख्दैन। अनुशासन पालना गर्ने सदस्यहरू आगामी एक बजे हुने संसदीय दलको बैठकमा उपस्थित भएर आफ्नो विचार राख्दै विश्वासको मत प्रदान गर्ने विश्वास उनले व्यक्त गरे।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया