काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक र दिगो पेशा बनाउन आवश्यक रहेको बताएका छन्।
कृषि तथा खाद्य संगठन (एफएओ) नेपाल, कृषि मन्त्रालय र अन्य साझेदार संस्था संयुक्त रुपमा ललितपुरमा आयोजना गरेको पारिवारिक खेती सम्बन्धी क्षेत्रीय कार्यशालालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपालजस्तो देशमा करिब ६० प्रतिशत जनसंख्या प्रत्यक्ष कृषि व्यवसायमा संलग्न रहेको र प्रति कृषक परिवार औसत ०.६ हेक्टर जोत जमिन रहेको तथ्याङ्क उल्लेख गरे।
उनले पारिवारिक खेती केवल आर्थिक गतिविधि नभई संस्कृति, परम्परा र खाद्य सुरक्षा सुनिश्चित गर्ने प्रमुख आधार भएको बताए। साना देखि मध्यम किसानसम्म समावेश हुने पारिवारिक खेती विकासोन्मुख देशमा कृषिको मुख्य स्वरुप भएको उनको भनाइ छ।
मन्त्री अधिकारीले जलवायु परिवर्तनले पारिवारिक खेतीमा थप चुनौती ल्याएको र यसलाई सामना गर्न सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको बताए। सिंचाइ विस्तार, कोल्ड स्टोरेज पूर्वाधार निर्माण र मूल्य श्रृंखला विकासमा लक्षित लगानीलाई सरकारले प्राथमिकतामा राखेको उनले उल्लेख गरे।
पशुपालन व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग र जलवायु मैत्री कृषि प्रवद्र्धनका लागि राष्ट्रिय कार्यक्रमहरू कार्यान्वयन भइरहेको उनले जानकारी दिए।
कार्यशालामा कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति कुसुमदेवी थापा, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डन, मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा, एफएओ प्रतिनिधि केन सिमिजु र नेपाल कृषि सहकारी संघका अध्यक्ष खेम पाठक लगायतले सम्बोधन गरे। तीन दिनसम्म चल्ने कार्यशालामा अन्तर्राष्ट्रिय र क्षेत्रीय कृषि नेतृत्व, नीतिनिर्माता, विज्ञ तथा विकास साझेदारहरूको उपस्थिति रहेको छ।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया