काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस २०२५ का अवसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको पाटोमा उभिएर मुलुकको भविष्य उज्वल बनाउने जिम्मेवारी युवाको काँधमा रहेको बताएका छन्। राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा उनले समृद्ध नेपाल निर्माणका लागि युवा वर्ग सक्षम भइसकेकोमा विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले आफू र आफ्नो पुस्ताले निरंकुशता, गरिबी र विकासको पिछडापन विरुद्ध संघर्ष गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको स्मरण गराउँदै भने, “मेरो युवा वयको संघर्ष, त्याग र क्रान्ति नै आजको लोकतान्त्रिक व्यवस्था ल्याउन महत्वपूर्ण साबित भयो।”
उनी युवाहरूले प्रविधि, खेलकुद, मनोरञ्जन र उद्यमशीलतामा उल्लेखनीय प्रगति गरिसकेको बताउँदै अब यो क्षमतालाई दिगो विकास र देशको नवनिर्माणमा उपयोग गर्न सबैले मिलेर अघि बढ्नुपर्ने औंल्याए। सरकारले युवालाई स्वदेशमै अवसर दिने उद्देश्यले सहुलियतपूर्ण कर्जा सुविधा र उद्यमशीलता प्रवर्द्धनमा जोड दिएको उनले बताए।
राष्ट्रपति पौडेलले उद्यमशीलता नै आर्थिक विकासको आधार भएकाले युवालाई रोजगारीका लागि विदेश पलायन हुन नदिन उद्यमशीलता विस्तारमा विशेष ध्यान दिनुपर्ने बताए। यस दिवसलाई युवा सहभागिता र सशक्तीकरणको साझा उत्सवको रूपमा महत्व दिँदै उनले दिगो विकास र राष्ट्रिय एकताको लागि युवाको सक्रिय भूमिका आवश्यक रहेको बताए।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया