मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले हालको अवस्थामा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सकिने अवस्था नभएको स्पष्ट पारेका छन्। आफ्नो पक्षका मागहरू तत्काल सम्बोधन नभएसम्म विश्वासको मतबारे निर्णय गर्न नसकेको उनले बताए।

उनका अनुसार काठमाडौँमा रहेका आफ्ना १४ सांसदसँग लगातार छलफल भइरहेको छ र विश्वासको मत दिने विषयमा अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकिएको छैन। छलफल अझै जारी रहेकाले केही समय आवश्यक पर्ने उनको भनाइ छ। छलफलको नतिजाका आधारमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने, वा अन्य विकल्पमा जाने विषयमा निर्णय गरिनेछ।

advertisement

लामाले भने, “हामी अझै निष्कर्षमा पुगेका छैनौँ। केही सांसदहरूले आफू अपमानित महसुस गरिरहेका छन् र तत्काल विश्वासको मत दिन सक्ने अवस्था देखिएका छैनन्।”

सांसद तीर्थ लामाका अनुसार पनि काठमाडौँमा सरकार र पार्टीको निर्देशनका विषयमा व्यापक छलफल भइरहेको छ। सबै सांसदले आफ्नो धारणा राख्न थालेका कारण निष्कर्षमा पुग्न अझै समय लाग्ने उनको भनाइ छ। निवर्तमान लामा पक्षले सरकारमा तीन जना मन्त्री नियुक्त गरेर शपथ गराउनुपर्ने माग पनि राख्दै आएको छ।

यो माग उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई समेत उठाइसकेको जनाइएको छ। देउवालाबाट सकारात्मक जवाफ पाएका भए पनि लामा समूह काठमाडौँमा छलफलमै जुटिरहेको छ।

मुख्यमन्त्री बानियाँले आगामी मंगलबार दिउँसो ४ बजे प्रदेशसभाको बैठकबाट विश्वासको मत लिन कार्यसूचीमा राखेका छन्। साउन २० गते एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा नेपालको संविधानको धारा १६८(२) अनुसार बानियाँले सरकार चलाउन कम्तीमा ५६ सांसदको समर्थन आवश्यक पर्छ।

बागमती प्रदेशसभामा कुल ११० सांसद रहेका छन् जसमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका २१, राप्रपा १३, एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन्।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com