काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘हाउ डेमोक्रेसी डाइज्’ भन्ने पुस्तक पढ्न सिफारिस गरेका छन्। मंगलबार संसद्को बैठकमा खनालले प्रधानमन्त्रीलाई यो सुझाव दिँदै सरकारका कामहरूको आत्ममूल्याङ्कन गर्न आग्रह पनि गरे।
खनालले भने, “प्रधानमन्त्रीज्यू भन्नुहुन्छ- लोकतन्त्र विरोधी शक्तिहरूले संसद् अवरुद्ध गरिरहेका छन्। म प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्छु, ‘हाउ डेमोक्रेसी डाइज्’ भन्ने किताब पढ्नुहोस् र आफ्नो सरकारले विगत एक वर्षमा गरेको कामको मूल्याङ्कन गर्नुहोस्। हामी सुशासन चाहन्छौं, छानबिन चाहन्छौं, भ्रष्टाचारी मन्त्रीहरू पदमा नबसुन् भन्ने चाहन्छौं। तपाईं के चाहनुहुन्छ?”
उनले भिजिट भिसा प्रकरणमा भएको मानव तस्करीविरुद्ध उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गरेर मुद्दा अघि बढाउन माग गर्दै विगत दुई महिनादेखि संसद् बहिष्कार गरिरहेको उल्लेख गरे। साथै, लिचीबारी बिक्रीको टेप सार्वजनिक हुनु, पासपोर्ट छपाइमा भएको भागबन्डा, कुलिङ पिरियडमा भएको अनियमितता लगायतका विषयमा संसद् मौन रहेकोमा असन्तुष्टि व्यक्त गरे।
खनालले भन्यो, “केही दिनअघि गृह मन्त्रालयका कर्मचारीले अझै पनि घुस लिइरहेको खबर प्रहरीसम्म पुगेको छ। तर, गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अघि बढाइएको छैन। लोकतन्त्रमाथि आक्रमण गर्नेहरूले आफूअनुकूल संविधान र कानून बनाउँदैछन्, न्यायपालिकाको स्वतन्त्रता कमजोर पार्दैछन्, कार्यकारी अधिकारलाई सशक्त पार्दै मिडियामाथि नियन्त्रण जमाउन खोजिरहेका छन्।”
उनले वर्तमान सरकारको यस्तो गतिविधि लोकतन्त्रका लागि घातक रहेको र यसका विरुद्ध आवाज उठाउन आवश्यक रहेको बताए। रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको माग गर्दै संसद् बहिष्कार गरिरहेको छ, तर सरकारले यस विषयमा गम्भीर कदम नचालेको उनीहरूको आरोप छ।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया