काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभामा बहादुरसिंह लामा पक्षधर सांसदहरूको बैठक काठमाडौंमा जारी छ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज दिउँसो ४ बजे विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन्। तर, लामापक्षका सांसदहरू भने हालसम्म हेटौँडामा उपस्थित नभई काठमाडौंमै समूहको आन्तरिक बैठकमा जुटेका छन्।
प्रदेशसभाका एक सदस्यका अनुसार, “हामी बैठकमै छौँ र विश्वासको मतअघि समूहको बैठक राखेका छौँ। पार्टी नेतृत्वसँग पनि हाम्रो माग सम्बोधनका लागि छलफल चलिरहेको छ।” लामा पक्षसँग प्रदेशसभामा १४ सांसदहरू रहेका छन्।
सांसद बहादुरसिंह लामालाई कांग्रेसकै सांसदहरूले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट हटाएका थिए। नेता पदबाट हटाएपछि लामाले आफ्ना तीन पक्षधर सांसदलाई मन्त्री नियुक्त गरेका थिए, तर उनीहरूलाई अझै सपथ ग्रहण गर्न दिइएको छैन। लामापक्षले उक्त तीन मन्त्रीलाई नवगठित मन्त्रिपरिषद् मा समावेश गर्न र सरकार सञ्चालनमा आपसी सहमति कायम गर्न मुख्यमन्त्री बानियाँसँग आग्रह गरेको छ।
लामा पक्षले नियुक्त गरेका धादिङका गोविन्द लम्साल (आन्तरिक मामिला तथा कानुन मन्त्रालय), चितवनकी माया श्रेष्ठ (युवा तथा खेलकुद मन्त्रालय) र गीता गुरूङ (सहकारी तथा गरिबी निवारण मन्त्रालय) मन्त्री हुन्।
विपक्षी दल कांग्रेस र मुख्य दल एमालेले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरिसकेका छन्।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया