काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्र बुझ्न र आफ्ना कामको समीक्षा गर्न ‘हाउ डेमोक्रेसी डाइज्’ नामक पुस्तक पढ्न सुझाव दिएका छन्। मङ्गलबार संसद् बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई सुशासन र भ्रष्टाचारमुक्त व्यवस्थाको अपेक्षा रहेको बताए।
खनालले भने, “प्रधानमन्त्रीज्यूले लोकतन्त्र विरोधी शक्तिहरू संसद् अवरुद्ध गरिरहेका बताउनुभएको छ। मेरो आग्रह छ—‘हाउ डेमोक्रेसी डाइज्’ पढ्नुहोस् र आफ्नो सरकारका कामहरू मूल्याङ्कन गर्नुहोस्। हामी सुशासन र छानबिनको पक्षमा छौं र भ्रष्टाचारमा संलग्न मन्त्रीहरू पदमा रहन नचाहन्छौं। तपाईंको चाहना के हो?”
उनले विगत दुई महिनादेखि भिजिट भिसा प्रकरणमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठनका लागि संसद् बहिष्कार गरिरहेकामा उल्लेख गर्दै भने, “मानव तस्करीविरुद्ध छानबिन माग्दा लिचीबारी बेच्ने टेप सार्वजनिक भयो, पासपोर्ट छपाइमा भागबन्डा खुलासा भयो, र कुलिङ पिरियडको बदमासीको विषय आयो। तर संसद मौन छ र विपक्षीको आवाज दबाउने प्रयास भइरहेछ। केही दिनअघि गृहमन्त्रालयका कर्मचारीले घुस लिइरहेको खबर प्रहरीसम्म पुग्दा पनि गृहमन्त्रीलाई अप्ठ्यारो पर्ने भन्दै छानबिन रोकिएको छ।”
खनालले सरकारमाथि न्यायालयको स्वतन्त्रता कमजोर पार्ने, कार्यकारी अधिकार बलियो बनाउने र मिडियामाथि नियन्त्रण जमाउने प्रयास गरेको आरोप पनि लगाएका छन्।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया