काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घुमाउरो तरिकाले आफ्नो अपराध स्वीकार गरेको बताएका छन्।
लामिछानेले जमानत पाउने उद्देश्यले रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए। त्यसपछि उनी अपराध स्वीकार गरेको संकेत बर्तौलाले प्रतिनिधि सभाको मंगलबारको विशेष समयमा बताएका हुन्।
बर्तौलाले भने, “रवि लामिछानेले आफ्नो दोष स्वीकारेर जमानतका लागि निवेदन दिएका छन्। यसरी उनले घुमाउरो तरिकाबाट अपराध स्वीकार गरिसकेका छन्।”
उनले लामिछानेको यो कदमले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक प्रतिशोधको दम्भ भत्किएको टिप्पणी गरे। प्रतिनिधि सभाको बहिष्कार गरेर ‘मिनी संसद’ मा सहभागी हुने रास्वपाका सांसदहरूले नाटकीय अभिनय गरिरहेको बर्तौलाको आरोप थियो।
साथै, उनीहरूले प्रधानमन्त्री, मन्त्रीहरू र आफू मन नपर्ने राजनीतिक दल तथा नेताहरूविरुद्ध संयोजित रूपमा गालीगलौज र आरोप-प्रत्यारोप गरिरहेको बताए।
बर्तौलाले रास्वपाका सांसदहरूलाई आफ्नो आचरण सच्याउन आग्रह गर्दै भने, “यस किसिमको कार्यशैली पहिले ठिक लाग्न सक्छ, तर दीर्घकालीन रूपमा यी विषयले पार्टीलाई नै नोक्सान पुर्याउने छ।”
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया