काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर संकलन गरी अदालतलाई प्रभावमा पार्ने प्रयास भएको आरोप लगाएकी छन्।
प्रतिनिधिसभाको मंगलबारको विशेष समयमा बोल्दै न्यौपानेले रास्वपाले बीपी कोइराला र नेल्सन मण्डेलाको उदाहरण दिने गरे पनि, उनीहरूको जेल बसाइ र लामिछानेको मुद्दामा ठुलो भिन्नता रहेको स्पष्ट पारिन्।
उनले भनिन्, “रविजस्तो जनतालाई ठगेर जेल जानुभएका होइन, बीपी र मण्डेला जनताको अधिकारका लागि जेल जानुभएका हुन्।” साथै, लामिछानेले यसअघि पनि कानुन विपरीतका कार्य गरिसकेको आरोप उनले लगाइन्।
न्यौपानेले कानुन निर्माण प्रक्रियामा स्वार्थ समूह हाबी हुने र त्यसकै कारण गलत कानुन बन्ने प्रवृत्ति देखिएको बताइन्। “केही नेपाल ऐन संशोधन” शीर्षकमा एकैपटक धेरै ऐन संशोधन प्रस्ताव ल्याइने र संसद्मा पर्याप्त छलफल नभएकाले पनि त्रुटिपूर्ण कानुन बन्ने गरेको उनले उल्लेख गरिन्।
उनका अनुसार, अस्पष्ट र गोलमटोल रूपमा कानुन बनाउने भन्दा स्पष्ट बुँदामा संशोधन ल्याउनु उपयुक्त हुन्छ। कारागार व्यवस्थाबारे पनि बोल्दै उनले सुधार र संरचनात्मक परिवर्तनको आवश्यकता रहेको धारणा राखिन्।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया