धनकुटा । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने अवस्था अझै नआएको बताएका छन्।
मंगलबार धनकुटाको हिलेमा बसेको एमाले कोशी प्रदेश कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै पोखरेलले संविधानसभा निर्वाचनपछि नेपाली जनतामा आशा जगाउने र समृद्धिको यात्रामा महत्वपूर्ण भूमिका खेल्ने काम ओली नेतृत्वकै सरकारले गरेको स्मरण गराए। यही कारण एमाले र ओलीमाथि निरन्तर प्रहार भइरहेको उनको भनाइ थियो।
उनले नेपालको अस्थिर राजनीतिलाई स्थिरतामा डोर्याउन ओली र एमालेले पुर्याएको योगदान रोक्न विभिन्न पक्षबाट दबाब सिर्जना गरिएको आरोप लगाए। पोखरेलका अनुसार लगातार तीन वर्षसम्म मुलुकको आर्थिक वृद्धि ४ प्रतिशतले बढाउन सफल भएको ओली सरकारप्रति खासगरी सत्ता बाहिर रहेका माओवादी र जनताबाट अस्वीकृत दलहरू आक्रामक बनेका छन्।
यस अवसरमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कन चाहेका भए पनि पार्टीले अहिलेका लागि सक्रिय राजनीतिमा नआउन आग्रह गरिसकेको जानकारी पनि दिए।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया