काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा नेपालमा बन्ने सरकार या त नेकपा (एमाले)को नेतृत्वमा, या त नेपाली कांग्रेसको नेतृत्वमा, वा दुवै दलको गठबन्धनमा मात्र सम्भव हुने दाबी गरेका छन्।
मंगलबार भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले साना दलहरूको सहकार्यबाट ‘टालाटुली बटुलेको’ अस्थिर सरकार बन्न नसक्ने स्पष्ट संकेत दिए।
प्रधानमन्त्री ओलीले अहिलेको सरकार दुई ठूला र ऐतिहासिक दलको सहकार्यमा बनेको भएकाले पूर्ण रूपमा स्थिर रहेको दाबी गर्दै भने, “सरकार परिवर्तन हुन्छ, हुन्छ, हुन्छ भन्ने कथा धेरै सुनेर कान टट्टाइसक्यो। यो सरकार स्थिर छ, ढुक्कले काम गर्नुहोस्।”
उनका अनुसार वर्तमान सरकारको कार्यकाल अझै करिब अढाइ वर्ष बाँकी छ, त्यसैले अस्थिरताको कुनै कारण छैन। उनले थपे, “दुई ठूला पार्टी विशेष परिस्थिति र उद्देश्यका साथ मिलेर यो सरकार बनेको हो। त्यसैले कुनै चिन्ता नगरी काममा लाग्नुहोस्।”
भविष्यको सरकारबारे प्रष्ट धारणा राख्दै ओलीले भने, “अब आउने सरकार या त एमाले बनाउँछ, एमालेले बनाएन भने कांग्रेस बनाउँछ, कांग्रेसले पनि बनाएन भने एमाले–कांग्रेस मिलेर बनाउँछन्। यी तीन विकल्प बाहेक अरु केही छैन। साना दलहरूलाई टालाटुली बटुलेर पुतली बनाउने हाम्रो सोच होइन।”
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया