काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को नेतृत्वमा फेरबदलको प्रयास असफल भएको छ। निर्वाचन आयोगले अध्यक्षमा रञ्जिता श्रेष्ठलाई नै कायम राख्ने निर्णय गरेको छ।
हालै काठमाडौंमा सम्पन्न नाउपाको राष्ट्रिय भेलाले साउन १५ गते लालवीर चौधरीलाई नयाँ अध्यक्ष चयन गरी आयोगमा अद्यावधिक गर्न निवेदन दिएको थियो। तर आयोगले राजनीतिक दलसम्बन्धी ऐन र दलको विधानको अध्ययनपछि रञ्जितालाई नै वैधानिक अध्यक्षका रूपमा मान्यता दिएको हो।
निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार नाउपा दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा लालवीर चौधरीको नाम थिएन। यस कारण आयोगले उनको अध्यक्षता स्वीकार नगरेको हो।
लालवीर चौधरी नाउपा संरक्षक रेशम चौधरीका पिता हुन् भने रञ्जिता श्रेष्ठ रेशमकी पत्नी हुन्। रेशमले पत्नीलाई अध्यक्ष पदबाट हटाएर आफ्ना पितालाई अध्यक्ष बनाउने निर्णय गरे पनि आयोगले पुनः रञ्जितालाई नै पदमा बहाल गरिदिएको छ।
यसअघि २०८० सालमा भएको नाउपाको पहिलो महाधिवेशनले रेशम चौधरीलाई अध्यक्षमा चयन गरेको थियो। तर आयोगले त्यस निर्णयलाई पनि अस्वीकार गर्दै रञ्जितालाई नै पार्टी अध्यक्षका रूपमा निरन्तरता दिएको थियो।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया