काठमाडौं । गृहमन्त्री रमेश लेखकले साउन २२ गते कैलाली कारागारमा भएको झडपबारे छानबिन गर्न समिति गठन गरिएको बताएका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले सहायक प्रमुख जिल्ला अधिकृतको नेतृत्वमा समिति गठन भएको जानकारी दिए।
लेखकका अनुसार प्रतिवेदन प्राप्त भएपछि दोषीमाथि कानुनी कारबाही र आवश्यक अन्य कार्य हुनेछन्। समितिलाई तोकिएको अवधिमा प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। घटनामा एक कैदीबन्दीको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन्।
घाइतेमध्ये अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौँ ल्याइएको छ — दुई जनाको उपचार ट्रमा सेन्टरमा र एक जनाको त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ। चार जना सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भई पुनः कारागार पठाइएका छन् भने बाँकी ४१ जनाको उपचार सेती प्रादेशिक अस्पतालमै भइरहेको लेखकले जानकारी दिए। मृतकको शव कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको छ।
कारागारमा हाल ६४३ पुरुष र ४७ महिला गरी कुल ७०० बन्दी छन्। गृहमन्त्रीका अनुसार साउन २२ गते राति दुई ब्लक छुट्याउने पर्खाल भत्काई ब्लक ए का बन्दीहरूले ब्लक बी मा पुगेर कुटपिट गरेका थिए। आन्तरिक द्वन्द्वका कारण भएको घटना पश्चात १७ जना नेतृत्वकर्तालाई अन्यत्र सरुवा गरिएको, दुई पटक विशेष खानतलासी गरिएको र कारागार निरीक्षण गरेर शान्ति–सुरक्षा कायम गरिएको उनले बताए।
लेखकले हाल कारागारको स्थिति सामान्य रहेको, सुरक्षाकर्मीको पर्याप्त उपस्थिति रहेको र परिवारलाई बन्दीहरूको अवस्था जानकारी गराइएको बताए। उनले आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिबद्धता पनि जनाए।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया