काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते भएको झडप घटनाको छानबिनका लागि समिति गठन गरिएको बताएका छन्।
बुधवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री लेखकले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति बनेको जानकारी दिए। समितिले तोकिएको अवधिमा प्रतिवेदन पेस गर्ने र त्यसका आधारमा दोषीमाथि कानुनी कारबाहीसहित आवश्यक कदम चालिने उनले बताए।
उनका अनुसार झडपमा एक कैदीबन्दीको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन्। घाइतेमध्ये अस्पतालले रिफर गरेका तीन जनामध्ये दुई जनाको उपचार ट्रमा सेन्टरमा र एक जनाको त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ। बाँकी चार जना उपचारपछि डिस्चार्ज भई पुनः कारागार पठाइएको छ भने अन्य ४१ जना सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।
मृतकको शव कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइसकेको मन्त्री लेखकले जानकारी दिए। अहिले कैलाली कारागारमा पुरुष ब्लक ‘ए’ र ‘बी’ गरी ६४३ पुरुष र छुट्टै ब्लकमा ४७ महिला सहित कुल ७०० कैदीबन्दी रहेका छन्।
मन्त्री लेखकका अनुसार साउन २२ गते राति दुई ब्लक छुट्याउने पर्खाल तोडफोड गरी ब्लक ‘बी’मा प्रवेश गरेर कैदीहरूबीच कुटपिट भएको छानबिनबाट खुलेको छ। आन्तरिक द्वन्द्वका कारण घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको उनले बताए।
घटनापछि द्वन्द्वमा संलग्न १७ कैदीलाई अन्यत्र सरुवा गरिएको, दुईपटक विशेष खानतलासी सञ्चालन गरी कारागारभित्र राख्न नहुने वस्तु बरामद गरिएको र प्रमुख जिल्ला अधिकारीमार्फत निरीक्षण गरी बन्दीहरूलाई सम्झाउने काम भएको उनले उल्लेख गरे।
हाल कारागारको अवस्था सामान्य रहेको र सुरक्षाकर्मीको पर्याप्त उपस्थिति रहेको मन्त्री लेखकले स्पष्ट पारे। बन्दीका परिवारलाई भेट गराई उनीहरूको स्वास्थ्य अवस्था र अवस्थाबारे जानकारी गराइएको उनले बताए। आगामी दिनमा यस्ता दुःखद घटना नदोहोरिने सुनिश्चिततासहित सुरक्षा व्यवस्थामा कडाइ गरिएको पनि उनले जोड दिए।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया