काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसमा संसदीय दल नेता परिवर्तन गर्ने चर्चा निरन्तर भइरहे पनि त्यसको सम्भावना न्यून रहेको टिप्पणी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै उनले कांग्रेस दल नेता फेर्न आवश्यक संख्या नपुगेको कुरा एक व्यक्तिले आफूलाई सुनाएको बताए।
“बिहानै आएर एक जनाले भन्यो— कांग्रेसभित्र ठूलो समस्या पर्न लागेको छ, दलको नेता फेर्न १२ जना मात्रै कम छन्, पूरा भए ढाल्ने रे। यस्तो कथा कति सुन्नु? कान टट्टाइसक्यो। यो कथा पटक–पटक आउँछ, पात्र बदलिन्छ, तर संशोधन केही हुँदैन,” ओलीले भने।
२०७९ पुस ६ गते भएको कांग्रेस संसदीय दल निर्वाचनमा ८८ मध्ये ६४ सांसदले सभापति शेरबहादुर देउवालाई र २५ सांसदले महामन्त्री गगन थापालाई समर्थन गरेका थिए।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार दुई ठूला दलको सहकार्यमा बनेको भएकाले स्थिर रहेको दाबी गर्दै भने, “सरकार कुन बेला ढल्छ भन्ने कुरा नसोची काम गर्नुहोस्। यो सरकार २०८४ सम्म जान्छ।”
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया