काठमाडौं ।   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखक र न्यायालयमाथि दबाब सिर्जना गरेको आरोप लगाएकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक खुलेको लामो वक्तव्यमा उनले आफ्ना श्रीमानको मुद्दामा न्यायालयको आदेश गृहमन्त्रीको निर्देशनमा रोकिएको दाबी गरेकी छन्।

पौडेलका अनुसार अदालतमा मुद्दाको पेशी चढेपछिसमेत गृहमन्त्रीको कार्यकक्षमै न्यायिक परिषद्‌मा पठाइने उजुरीको मस्यौदा तयार हुने गरेको छ। उनले यस्तो उजुरी पठाइ न्यायाधीशहरूलाई धम्क्याउने र सही फैसला गर्न नदिने वातावरण सिर्जना गरिएको आरोप लगाइन्।

advertisement

रुपन्देही कारागारमा श्रीमानलाई भेट्न घरबाट निस्किँदा आफ्नो पछिपछि गृहमन्त्रीसँग सम्बन्धित संगठनका व्यक्तिहरू पठाइएको पनि पौडेलको दाबी छ। उनले सरकारी पक्ष बहसमा जवाफ दिन असफल भए पनि आदेश सधैं विपक्षमा आउने, आदेश आउन ढिलाइ गर्ने, बहस विपरीत निर्णय हुनेजस्ता ‘अस्वाभाविक गतिविधि’ हुने आरोप लगाइन्।

उनले सर्वोच्च अदालतले समान प्रकृतिका मुद्दामा धरौटीको आदेश दिएको नजिर भए पनि लामिछानेलाई थुनामै राखिएको उल्लेख गरिन्। न्यायाधीशहरूको बढुवा र सरुवामा निर्भर हुने वातावरणका कारण स्वतन्त्र फैसला हुने सम्भावना कमजोर रहेको उनको भनाइ छ।

पौडेलले गृहमन्त्री लेखक नियुक्त भएपछि मात्र लामिछानेमाथि नयाँ मुद्दा दर्ता भएको बताइन् र “राज्यका सबै निकाय कब्जा गरिएको” आरोप दोहोर्याइन्। उनले न्याय पाउने आश्वासन नभए पनि जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत बुटवल र आवश्यक परे अन्तर्राष्ट्रिय अदालतसम्म जाने चेतावनी दिइन्।

प्रधान न्यायाधीशलाई सम्बोधन गर्दै पौडेलले आफ्नो कार्यकालमै ‘खुला अन्याय’ रोक्न आग्रह गरेकी छन्। उनका अनुसार, न्याय दिने काम कार्यकाल सकिएपछि लेखिने पुस्तकमा होइन, कार्यकालमै जारी हुने आदेशमा देखिनु पर्छ।

 

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com