काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका अनिलकुमार झाले नेपाल सद्भावना पार्टी पुनः सक्रिय बनाएका छन्। लोसपाले वरिष्ठ नेताबाट आएको उनको राजीनामा स्वीकृत गरिसकेको छ।
झाले निष्क्रिय अवस्थामा रहेको नेपाल सद्भावना पार्टीलाई पुनर्जीवित गरी नेतृत्व सम्हाल्ने घोषणा गरेका छन्। उनले नेपाल प्रेससँग कुरा गर्दै भने, “नेपाल सद्भावना पार्टी लामो समयदेखि निष्क्रिय थियो। लोसपा छाडेर यसको नेतृत्व गर्ने गरी म ब्युँताएको हुँ। निर्वाचन आयोगले अद्यावधिक प्रक्रिया पूरा गरिसकेको छ।”
उनका अनुसार पार्टीको पुरानै झण्डा र ‘पाँच औँला देखिएको हात’ चुनाव चिह्न यथावत रहने छन्। पार्टी संरचना निर्माणका विषयमा आन्तरिक छलफल भइरहेको उनले बताए।
झाले थप रणनीति र आगामी योजनाबारे जानकारी दिने उद्देश्यले भोलि दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना हुने पनि जानकारी दिए।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया