काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले न्यायालयको निष्पक्षतामाथि प्रश्न उठाउँदै अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएकी छिन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लामो पोस्ट गर्दै पौडेलले आफ्नो श्रीमान् विरुद्धका मुद्दामा अदालतको निर्णय प्रक्रिया अस्वाभाविक र पक्षपाती रहेको दाबी गरिन्। उनले सरकारी पक्ष बहसमा जवाफ दिन असमर्थ हुँदाहुँदै पनि फैसला कहिल्यै आफ्ना पक्षमा नआएको आरोप लगाइन्।

advertisement

उनका अनुसार अदालतमा बहस दिउँसै सकिँदा पनि आदेश आउन रातभर लाग्ने, आदेशमा ‘कपी–पेस्ट’ हुने, पेनड्राइभ बोकिँदै हिँड्ने, मिडिया ट्रायल हुने र अस्वाभाविक व्यक्तिहरूको आवतजावत हुनेजस्ता गतिविधि देखिन्छन्। “दुई तिहाइको सरकार भएको अवस्थामा विपक्षी दलको नेतामाथि यस्तो खुला अन्याय भइरहेको छ,” पौडेलले लेखेकी छन्।

पौडेलले बढुवाको मुखमा रहेका न्यायाधीशहरूले सरकारसँग टकर लिन नसकेको र त्यसैले निष्पक्ष फैसला नआएको पनि आरोप लगाइन्। “फलानोको बेन्चमा पर्‍यो भने बरबाद हुन्छ भन्ने सुनिन्छ। सरुवा–बढुवाको कारणले न्याय दिने आँट गर्दैनन् भन्ने पनि सुन्छु,” उनले भनिन्।

उनले गृहमन्त्रीको कोठामै बसेर न्यायालयलाई धम्क्याउने पत्र तयार हुने अवस्थाले न्याय प्रणालीको विश्वसनीयता कमजोर भएको बताइन्। साथै, श्रीमान् विरुद्धका सबै मुद्दा गृहमन्त्री रमेश लेखकको कार्यकालमा मात्र दर्ता भएको र कुनै पनि मुद्दा हदम्यादभित्र नभएको दाबी गरिन्।

“देशका सबै निकाय एउटै रावणका फरक–फरक टाउका हुन् भन्ने मेरो श्रीमान्‌को भनाइ सही हो,” पौडेलले लेखेकी छन्, “तर म लड्छु, संविधान र कानुनले दिएका सबै ढोकामा ढकढक्याउँछु।”

अन्त्यमा उनले अन्तर्राष्ट्रिय अदालतमा जाने तयारी भइरहेको उल्लेख गर्दै, यसका लागि आवश्यक सहयोग गर्न सक्नेहरूलाई मद्दतको आग्रह गरिन्।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com