काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार प्रतिनिधि सभा बैठक बहिस्कार गरेका छन्।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक छानबिन नभएको भन्दै दुवै दलले विरोध गरेका हुन्।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी दिँदै अध्यक्षता गर्दा रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाए। त्यसपछि सभामुखले रास्वपा सांसद अशोककुमार चौधरीलाई बोलाएका थिए। चौधरीले भने, “भिजिट भिसा प्रकरणमा हाम्रो मागअनुसार समिति गठन नभएसम्म हामी विरोध जारी राख्नेछौं। साथै, मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न काण्डमा मुछिएका छन्, तिनको छानबिन गर्नुपर्छ।”
यसपछि राप्रपाका सांसद दीपकबहादुर सिंहलाई बोलाउने अवसर दिइयो। उनले पनि भिजिट भिसा प्रकरणमा समिति गठन नभएको भन्दै विरोध जारी रहने र बहिस्कार गर्ने दिनको भत्ता पनि नलिने स्पष्ट पारे।
दुवै दलका सांसदहरूले संसद् बैठक कक्षबाट बाहिरिएका छन्।
रास्वपा र राप्रपाले भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग गठन गर्न माग गर्दै जेठ १३ गतेदेखि प्रतिनिधि सभा बैठक बहिस्कार गर्दै आएका छन्।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया