काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्। दुवै दलले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक छानबिन नबनाएको भन्दै विरोध प्रदर्शन गरेका हुन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाए। रास्वपा सांसद अशोककुमार चौधरीले भिजिट भिसा प्रकरणमा माग अनुसार छानबिन नबनाएसम्म संसदमा बस्दैनन् भनी चेतावनी दिए। उनले मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न काण्डमा मुछिएका विषयमा पनि छानबिन गर्नुपर्ने बताए।
त्यसपछि राप्रपाका सांसद दीपकबहादुर सिंहले पनि आफ्नो पार्टीको दृष्टिकोण व्यक्त गर्दै छानबिन समिति गठन नहुँदासम्म विरोध जारी रहने बताए। उनले बैठक बहिस्कार गर्ने र बहिस्कार गरेको दिनको भत्ता नलिने जानकारी पनि गराए।
उल्लेखनीय छ कि रास्वपा र राप्रपा सांसदहरूले भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय वा न्यायिक छानबिन समिति गठन गर्न गत जेठ १३ देखि निरन्तर माग गर्दै आएका छन्। आजको घटनापछि दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन्।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया