काठमाडौँ । गृहमन्त्री रमेश लेखकले धनगढी कारागारमा हालै भएको झडपपछि कारागार व्यवस्थापन र सुधारबारे विस्तृत जानकारी दिएका छन्। उनले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा कारागारमा क्षमताभन्दा बढी थुनुवा रहेका कारण समस्याहरू उत्पन्न भएको प्रष्ट पारे।
मन्त्री लेखकले बताएअनुसार, सरकारले कारागारलाई सुधारगृहको रूपमा विकास गर्ने नीति लिएको छ। यसअन्तर्गत कारागार परिसरभित्र अस्पताल, विद्यालय, कारखाना, खेलमैदानलगायत सुविधासहितको संरचना निर्माण गर्ने योजना छ। तर धेरै थुनुवाहरू आफ्नै जिल्ला वा साना कारागारमा बस्न चाहने भएकाले क्षमता भन्दा बढी थुनुवा रहेको उनको भनाइ छ।
कारागार ऐन, २०७९ को दफा १७ अनुसार, तेस्रो लिङ्गी, मानसिक अवस्था ठीक नभएका र गम्भीर/जघन्य अपराधमा सजाय पाएका थुनुवालाई अन्य थुनुवाबाट अलग राख्नुपर्ने व्यवस्था भए पनि कारागारमा यसलाई पूर्ण रूपमा लागू गर्न चुनौती रहेको मन्त्री लेखकले बताए।
धनगढी कारागारमा साउन २२ गते राति भएको झडपपछि घाइते थुनुवाहरूलाई तत्काल अस्पतालमा भर्ना गरिएको थियो। तीनजनालाई काठमाडौँ ल्याएर उपचार गरिएको छ भने बाँकी ४५ जनालाई सेती प्रादेशिक अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएको र मृतकको शव कानुनी प्रक्रिया पुरा गरी परिवारलाई हस्तान्तरण गरिएको छ।
घटनापछि गृहमन्त्री लेखकले कारागारमा शान्ति सुरक्षा कायम राख्न नेतृत्वकर्ताहरूलाई अन्यत्र सरुवा गर्ने, विशेष खानतलासी गर्ने र प्रमुख जिल्ला अधिकारीबाट निरीक्षण गर्ने कदमहरू गरिएको जानकारी दिए। उनले केन्द्रीय कारागार नुवाकोट निर्माण र जीर्ण कारागार पुनर्निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
त्यसैगरी, सबै थुनुवाहरूको स्वास्थ्य बीमा गराउने र उपचार खर्च सहज बनाउने पहल अघि बढाइने, विदेशी थुनुवाहरूको दीर्घ रोग लागेमा सम्बन्धित देशमा फिर्ता पठाउने नीति बनाइने उनले बताए।
मन्त्री लेखकले कारागारमा सवारीसाधन र इन्धनको अभाव समाधान गर्ने, भिडियो कन्फेरेन्समार्फत अदालतमा बयान दिने व्यवस्था मिलाउने, बाल सुधारगृहका बालबालिकाको शिक्षाका लागि सम्बन्धित मन्त्रालय र स्थानीय तहसँग समन्वय गर्ने योजना अघि बढाउने जानकारी पनि दिएका छन्।
उनले थपे, “कारागारभित्र नेतृत्वको जिम्मेवारी पाउने थुनुवा समूहले आन्तरिक व्यवस्थापन गर्छन्, तर यसका कारण बेला-बेला झडप हुने घटना हुने गरेको छ।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया