काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले सामाजिक सञ्जालमार्फत गृहमन्त्री रमेश लेखक र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई लक्षित गर्दै कडा प्रश्नहरू उठाएकी छन्।
निकिताले श्रीमानमाथि भइरहेको कानुनी प्रक्रिया र अदालतको कामकारबाहीमा प्रत्यक्ष सरकारी हस्तक्षेप भएको आरोप लगाउँदै, न्याय सुनिश्चिततामा गम्भीर आशंका व्यक्त गरेकी हुन्।
फेसबुकमार्फत सार्वजनिक गरिएको लामो स्टाटसमा उनले अदालतको आदेश गृहमन्त्रीको निर्देशनमा रोकिएको, मुद्दा पेशीमा चढ्ने बित्तिकै न्याय परिषद्मा उजुरी पुर्याइने र सो उजुरीको ड्राफ्ट समेत गृहमन्त्रीकै कार्यकक्षमा तयार गरिने गरेको दाबी गरेकी छन्। साथै, गृहमन्त्रीको सचिवालयबाट समाचारको लिङ्क मोबाइलमा पठाएर न्यायाधीशलाई धम्क्याउने प्रयास भएको आरोपसमेत लगाइन्।
“मुद्दाको पेशी चढ्ने दिनमै न्याय परिषद्मा उजुरी पुग्छ भने, कुन न्यायाधीशले आफ्नो करियर दाउमा राखेर सही फैसला गर्ने आँट गर्ने? अदालतलाई खुलेआम धम्की दिने साहस गृहमन्त्रीलाई कहाँबाट आयो?” निकिताले प्रश्न गरेकी छन्।
उनले रुपन्देही कारागारमा श्रीमानलाई भेट्न जाँदा आफूलाई पछ्याइएको, अदालतको आदेश आउँदा अस्वाभाविक गतिविधि देखिने, दिउँसो बहस सकिए पनि रातसम्म आदेश नआउने, आदेशमा ‘कपी–पेस्ट’ हुने र मिडिया ट्रायल चलाइने जस्ता घटनाहरू भएको दाबी गरिन्।
निकिताले सर्वोच्च अदालतले समान प्रकृतिका मुद्दामा धरौटीमा रिहा गर्ने नजिर कायम गरे पनि, लामिछानेलाई निरन्तर थुनामा राखिएको उल्लेख गर्दै प्रधानन्यायाधीशलाई सोधिन् — “अब म जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा अपिल गर्न जाउँ कि नजाउँ?”

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया