काठमाडौँ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरीलाई मान्यता नदिएपछि रेशम चौधरी पक्षका नेताहरू आन्तरिक रणनीतिक छलफलमा जुटेका छन्।
यसअघि बहुमत केन्द्रीय सदस्यको बैठकले राष्ट्रिय भेला आयोजना गर्दै अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गरी लालवीर चौधरीलाई नयाँ अध्यक्ष चयन गरेको थियो। तर, आयोगले उक्त निर्णय अस्वीकार गर्दै श्रेष्ठलाई नै अध्यक्षको रूपमा कायम राख्ने निर्णय गरेको हो।
आयोगकी प्रवक्ता निकिता पोखरेल अर्यालका अनुसार, पार्टीको विधान र निर्णय प्रक्रिया अध्ययन गर्दा लालवीरलाई अध्यक्षको मान्यता दिन उपयुक्त नदेखिएको भन्दै आयोगको बोर्ड बैठकले निर्णय गरेको हो। उनले उक्त निर्णयबारे आधिकारिक पत्र लालवीर र रञ्जिता दुवैलाई पठाइएको जानकारी दिइन्।
रञ्जिता श्रेष्ठले पनि आयोगमा निवेदन दर्ता गरी विधान विपरीत लालवीरलाई अध्यक्ष बनाइएको दाबी गर्दै आफू नै वैधानिक अध्यक्ष भएको आग्रह गरेकी थिइन्। अन्ततः आयोगले उनको पक्षमा निर्णय सुनाएको हो।
निर्णय सार्वजनिक भएपछि पार्टीका असन्तुष्ट पक्षका नेताहरू बैठकमा बसेर आगामी रणनीति तय गरिरहेका छन्। नेता रामलाल डगौराका अनुसार, आन्तरिक समन्वयपछि पार्टी एकताबद्ध रूपमा अघि बढाउने तयारी भइरहेको छ।
रञ्जिता श्रेष्ठले पनि साझा संवाद र सहमतिको आधारमा पार्टीलाई एकताबद्ध बनाउने तथा रुपन्देही–३ को उपनिर्वाचनमा पार्टीको ध्यान केन्द्रित गर्ने योजना रहेको बताइन्।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया