काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण, घुस र किर्तेसहितका मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा यसबारे पेसी तोकिएको हो।
यसअघि विशेष अदालतले न्यौपानेलाई सामाजिक संस्थाको सम्पत्ति गैरकानुनी रूपमा व्यक्तिगत खातामा सारेर दुरुपयोग गरेको ठहर गर्दै दोषी ठहर गरेको थियो। अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनको सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर प्रमाणित गर्दै १२ करोड ४ लाख ८७ हजार रुपैयाँ गैरकानुनी रूपमा अपचलन भएको निष्कर्ष निकालेको थियो।
फैसलाअनुसार न्यौपानेले विभिन्न बैंकमा व्यक्तिगत खाता खोली कलेजको रकम स्थानान्तरण गरेका थिए र त्यसबाट प्राप्त आम्दानीको करसमेत तिरेका थिएनन्। तलब, भत्ता, गाडी तथा अन्य सुविधाका नाममा समेत रकम दुरुपयोग गरी कुल १२ करोड ८४ लाख रुपैयाँ हिनामिना गरेको अदालतले ठहर गरेको थियो।
विशेष अदालतको उक्त आदेशविरुद्ध न्यौपाने ५ फागुन २०८१ मा सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया