काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकमाथि ७८ लाख रुपैयाँ घुस प्रकरणमा दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ करिब छ महिनापछि हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा यस मामिलाको पेसी तोकिएको हो।
नेपाल इन्जिनियरिङ कलेजभित्रको अनियमितता मिलाउन भन्दै ७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोगको सम्भावनाले पाठकले तत्कालीन पदबाट राजीनामा दिएका थिए। काम सम्पन्न नभएपछि रकम दिने समूहले घुस लेनदेनबारेको अडियो र भिडियो प्रमाणसहित सार्वजनिक गरेको थियो।
अनियमितता मिलाउन कुल एक करोड ६० लाख रुपैयाँको घुस सम्झौता भए पनि प्रारम्भिक रूपमा पेस्कीका रूपमा दुई किस्तामा ७८ लाख रुपैयाँ तत्कालीन आयुक्त पाठकसम्म पुगेको अनुसन्धानले देखाएको छ। सो रकम बुझाउने समूहले पछि अख्तियारमा अडियो प्रमाण पेस गरेको थियो।
यो प्रकरणमा अख्तियारले पूर्वआयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले दुवैलाई ३–३ वर्ष कैद सजाय र ३९ लाख रुपैयाँ जरिवाना तोकेको थियो। साथै, पाठकमाथि थप ३ महिना कैद सजाय पनि तोकिएको थियो।
विशेष अदालतले उनीहरूलाई भ्रष्टाचार प्रयासको आरोपमा आधा सजाय सुनाएपछि अख्तियारले फैसलाविरुद्ध पुनरावेदन गर्दै सर्वोच्च अदालतमा पुगेको हो।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया