काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी अगस्ट ३० मा चीन जाने भएका छन्। उनी सेप्टेम्बर ३ मा स्वदेश फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

ओलीको यो भ्रमण शाङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागिताका लागि हुने हो। सम्मेलन अगस्ट ३१ देखि सुरु हुनेछ। भ्रमणका क्रममा उनले चीनका राष्ट्रपति सी चिनफिङसँग सेप्टेम्बर ३ मा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

advertisement

सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका प्रधानमन्त्री र राष्ट्रप्रमुखहरू पनि सहभागी हुनेछन्। मोदीसँग ओलीको भेट हुने सम्भावना भए पनि कार्यतालिका अझै तय भएको छैन। साथै, अन्य मुलुकका शीर्ष नेताहरूसँग पनि साइडलाइन भेटवार्ता हुने अपेक्षा गरिएको छ। राष्ट्रपति सीले सम्मेलनका सहभागी विदेशी प्रतिनिधिहरूका लागि सेप्टेम्बर ३ मा दिवा भोजको आयोजना गर्नेछन्।

एक वर्षको कार्यकालमा प्रधानमन्त्री ओलीको यो दोस्रो चीन भ्रमण हुनेछ। यसअघि उनले २०८१ मङ्सिरमा चीनको यात्रा गरेका थिए। यद्यपि, उनले अहिलेसम्म भारत भ्रमण गरेका छैनन्। ओलीले यसबीचमा अमेरिका, थाइल्यान्डलगायतका देश भ्रमण गरिसकेका छन्।

हालै उनी साउन २३ गते तुर्कमेनिस्तानको भ्रमणबाट फर्किएका हुन्, जहाँ उनले भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएका थिए।

चीन भ्रमणपछि प्रधानमन्त्री ओली भदौ ३१ मा भारत जाने तयारीमा छन्। सो भ्रमणको तयारीस्वरूप भदौ १ गते भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्री नेपाल आउने कार्यक्रम छ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com