काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोबीच आज कार्यगत एकता घोषणा हुने भएको छ। नयाँ बानेश्वरस्थित पार्टी प्यालेसमा हुने कार्यक्रममा दुवै दलले यस एकताको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्।
एक नेताका अनुसार, “यो वास्तवमा पूर्ण एकताको पहिलो चरण हो, त्यसैले यसलाई कार्यगत एकता भनिएको हो। सबै खाका तयार भइसकेको छ र चाँडै पूर्ण एकता पनि घोषणा हुनेछ।”
दुवै दलका शीर्ष नेताहरू र मूल कमिटीबीच एकताका लागि सहमति भइसकेको छ भने तल्लो तहमा पनि छलफल गरी एकता प्रक्रियालाई अघि बढाउने तयारी भइरहेको छ। कार्यगत एकता पछि संयुक्त रूपमा प्रदेश, जिल्ला र स्थानीय तहसम्म कार्यक्रम सञ्चालन गरी जनसहभागितामार्फत एकताको दिशा तय गरिनेछ।
कार्यगत एकताको घोषणापछि दुवै दलले जनपरिचालनका कार्यक्रम सञ्चालन गर्ने, आमसभा, सेमिनार, गोष्ठी तथा जनमत सिर्जना गर्ने तयारी गरिरहेका छन्। राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव सन्तोष मेहताले पनि एकताको सम्भावना बलियो रहेको बताए। उनले भने, “पहिला कार्यगत एकता गरेर अगाडि बढौँ, त्यसको प्रभाव र प्रतिफल हेरेपछि मात्र पूर्ण एकताको निर्णय हुनेछ। तल्लो तहसम्म छलफल गरी मिलन र समझदारी पछि मात्र अघि बढ्ने योजना छ।”
दुवै दलले नेपालको संविधान अपूरो र विभेदकारी रहेको भन्दै त्यसलाई संशोधन र सुधार गर्न संयुक्त आन्दोलन गर्ने सहमति जनाएका छन्। यसका लागि सरकार, संसद् र सडक तीनवटै स्तरबाट दबाबमूलक कार्यक्रम सञ्चालन गरिनेछ।
सङ्घीयता, लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि दुवै दल सक्रिय रहने निर्णय गरेका छन्। बहुजातीय तथा बहुल राष्ट्रिय राज्य निर्माण, प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रदेशमुख्यमन्त्री तथा स्थानीय तहका कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन, स्थानीय तहको गैरदलीय निर्वाचन र समावेशी मन्त्रिपरिषद् गठनका विषयमा पनि दुवै दल सहमत भएका छन्।
साथै, जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था हुनुपर्नेमा पनि दुवै दलले जोड दिएका छन्।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया