काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्कीले प्रतिनिधि सभामा गृहमन्त्री रमेश लेखकमाथि अदालतमा हस्तक्षेप गरेको आरोप लगाएकी छन्। उनले मानव तस्करीसम्बन्धी मुद्दा मात्र नभएर न्यायालयमा गृहमन्त्रीको नियन्त्रित गतिविधि भएको दाबी गरेकी छन्।
संसदमा बोल्दै कार्कीले पूर्वन्यायाधीश सुशीला कार्कीको अभिव्यक्ति उद्धृत गर्दै भनिन्, “रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको निवेदनको पेसी परेको दिन गृहमन्त्रीकै कार्यकक्षमा उजुरी तयार पारियो र त्यसको प्रतिलिपि सचिवालयमार्फत पठाइयो। यस्तो परिस्थितिमा स्वतन्त्र न्याय सम्भव हुने होइन।”
सांसद कार्कीले प्रधानमन्त्रीको अभिव्यक्तिले जनमानसमा भ्रम फैलाएको टिप्पणी गर्दै भनेकी छन्, “प्रधानमन्त्रीले केही दिनअघि आफ्नै पार्टीका कार्यकर्तालाई न्यायाधीश बनाउने र निर्णय बफादारीमा हुने बताउनुभएको थियो। आज उहाँ भन्नुहुन्छ अदालतको फैसला सरकारले लिन सक्दैन। यस्तो अभिव्यक्तिले जनता भ्रमित हुन्छन्।”
यस क्रममा उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकता देखाउँदै पदबाट राजीनामा दिएका भए पनि गृहमन्त्री लेखकले आफ्नो नैतिक जिम्मेवारी निभाउन नसकेको टिप्पणी पनि गरिन्।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया