काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. चन्दा कार्कीले प्रतिनिधि सभामा गृहमन्त्री रमेश लेखकमाथि न्यायालय प्रभावित पार्ने गम्भीर आरोप लगाएकी छन्। बिहीबारको बैठक सुरु भएपछि सभामुखसँग समय लिएर बोल्दै उनले उक्त आरोप राखिन्।
सांसद कार्कीले भनिन्, “मानव तस्करीको मुद्दा मात्र होइन, गृहमन्त्रीको न्यायालयमा हस्तक्षेपको विषय पूर्वप्रधान न्यायाधीश शुशिला कार्कीको अभिव्यक्तिसहित सार्वजनिक भइसकेको छ।” उनले गृहमन्त्रीको सचिवालयमा उजुरी तयार पारिएको दाबी पनि गरिन्।
डा. कार्कीका अनुसार, “गत सोमबार रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको निवेदनको पेसी परेको दिन गृहमन्त्रीकै कार्यकक्षमा उजुरी तयार पारिएको र त्यसको प्रतिलिपि सचिवालयबाट अन्यत्र पठाइएको सूचना बाहिर आएका छन्। उजुरी योजनाबद्ध रूपमा परेपछि स्वतन्त्र न्याय कसरी सम्भव हुन्छ?” उनले प्रश्न गरिन्।
सांसद कार्कीले केही सांसदहरूले कानुनमन्त्री र प्रधानमन्त्रीले समेत न्यायाधीशलाई फोन गरेको आरोप लगाएको स्मरण गराउँदै, यसबारे सम्बन्धित निकायको गम्भीर ध्यान आवश्यक रहेको बताइन्।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया