काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्रीले संसदमा पेस गरेको तथ्यांकप्रति आपत्ति जनाउँदै स्वास्थ्य क्षेत्रको अवस्था उजागर गर्न प्रश्न उठाएका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा पूर्वमन्त्री पुनले प्रधानमन्त्रीको भाषणले देशमा कुनै समस्या छैन, विकास द्रुत भएको छ र सुशासनको मानक बनेको छ भन्ने भाव दिएको बताए। उनले प्रश्न गर्दै भने, “प्रधानमन्त्रीज्यू, तपाईँले संसदमा भाषण गरिरहँदा स्वास्थ्य प्रतिष्ठानहरूको चीरहरण भइरहेको किन बिर्सनुभयो? स्वास्थ्य तथ्याङ्क प्रस्तुत गर्दा मेरिटोक्रेसी मिचेर भागबन्डा भइरहेको थियो।”
पुनले कुशासनका कारण एक योग्य चिकित्सक देश छाड्न बाध्य भएको र मेडिकल काउन्सिलमा दर्ता भएका ७४ प्रतिशत चिकित्सक विदेश गएका तथ्यांक प्रस्तुत गर्दै प्रधानमन्त्रीसँग जवाफ मागे।
उहाँले आर्थिक वृद्धि सकारात्मक भए पनि रातारात नभएको भन्दै विगतको सरकारले गरेका कामले केही आर्थिक वृद्धि भएको भए पनि सहकारी ठगी प्रकरण, रंगशाला र संसद् भवन निर्माणमा सरकारले चित्तबुझ्दो जवाफ नदिएको आरोप लगाएका छन्।
किसानले मल नपाएको विषय उठाउँदा आलोचना हुने भन्दै उनले सोधे, “कसले किसानलाई मल उपलब्ध गराउन रोक्यो?”
साथै, पुनले भूमिहीन, सुकुम्वासीलाई नदेखेर दलालको हितमा भूमि विधेयक ल्याएको, पासपोर्ट छपाइमा मिलेमतो भएको र ग्रे लिस्टबाट बाहिर निकाल्ने योजना नबनाएको आरोप लगाउँदै प्रधानमन्त्री र सरकारमा देखिएको दम्भले समस्या समाधान नहुने बताए।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया