काठमाडाैं । बाजुरामा बुधबार राति आएको भीषण बाढीले बाजुराको हिमाली गाउँपालिका–१ स्थित विच्छ्या क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विच्छ्या खोलामा आएको बाढीले गाउँपालिकाका १, ३ र ५ नम्बर वडामा व्यापक असर पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए।

उनका अनुसार बाढीले ११ घर पूर्ण रूपमा बगाएको, ७ घरमा क्षति पुर्‍याएको र १७ घर उच्च जोखिममा रहेका छन्। बाढीले १ नम्बर वडामा नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा र गोवतल थापाको घर, पसल र खेतबारीमा क्षति पुर्‍याएको छ।

advertisement

त्यसैगरी, ५ नम्बर वडामा नवराज बुढा, देवीलाल चदारा, विरवल चदारा, अजय चदारा, हिउँसरा ल्वार र अङ्गविर चदाराका घर बगाएको छ। साथै बलबहादुर चदारा, मुगा लुहार, देबीलाल बुढथापा, वीरभान लुहार र डवल लुहारको घर पनि बाढीले बगाएको प्रहरी निरीक्षक चौधरीले बताए।

बाढीका कारण विच्छ्याका सुजलाल थापा, धनसिंह थापा, जबैलाल थापा, धनबहादुर थापा, चन्द्रापति थापा, धर्मलाल थापा, बलचन्द्र थापा लगायतका घर उच्च जोखिममा छन्। स्थानीय उने थापा, लालसिंह बोहरा, डिलबहादुर थापा, हरिलाल थापा, भउरलाल थापा, चन्द्रवान थापा, रत्नपति थापा, गोबनल थापा, धर्मजीत थापा र लक्ष्मण थापाको घर पनि समान जोखिममा परेको छ।

बाढीले सरकारी कार्यालय, विद्यालय र अन्य सार्वजनिक संरचनामा समेत क्षति पुर्‍याएको छ। १ नम्बर वडा कार्यालय, विच्छ्या माध्यमिक विद्यालय, स्वास्थ्य चौकी, स्थानीय विद्युत लाइन, झोलुङ्गे पुल तथा नेटा र देउसैनको पानी घट्ट जोखिममा छन्।

क्षतिको अवस्था बुझ्न गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल नेतृत्वको टोली प्रभावित क्षेत्रमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले जानकारी दिए। अध्यक्ष मल्लले राहत तथा पुनःस्थापनाका लागि कार्यपालिका बैठक बसेर आवश्यक निर्णय लिइने बताए।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com