काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको भन्दै २ लाख रुपैयाँ जरिवाना गरेको छ।
महानगरको नियमित अनुगमनका क्रममा बिक्री–वितरणका लागि तयार गरिएको मममा धातुको औँठी फेला परेको र खाद्य पदार्थ गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएको हो।
काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी ममले पटक–पटक निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पुष्टि भएपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३०(१)(ख) बमोजिम कारबाही गरिएको हो।
व्यवसाय सञ्चालकलाई जरिवाना रकम ७ दिनभित्र बैंकमार्फत जम्मा गर्न र सोको जानकारीसहित महानगरको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने व्यवस्था मिलाउन पनि चेतावनी दिइएको छ।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया