काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का निवर्तमान केन्द्रीय सदस्य तथा रूपन्देहीका युवा नेता महेन्द्र गुप्ता ‘प्रशान्त’ ले पार्टी परित्याग गरेका छन्। उनले आफू मात्र नभई १५० भन्दा बढी नेता–कार्यकर्तासहित राजीनामा दिएको घोषणा गरेका छन्।
गुप्ताले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गर्दै पार्टीका केही शीर्ष नेताहरूले लोसपालाई निजी कम्पनीजस्तो चलाइरहेको आरोप लगाए। उनका अनुसार मधेसका नाममा राजनीति गर्ने नेताहरू जनताको भलोभन्दा व्यक्तिगत स्वार्थमा रमाइरहेका छन्, र अन्यायविरुद्ध आवाज उठाउनेलाई तानाशाही शैलीमा कारबाही गरिन्छ।
हालै लुम्बिनी प्रदेशमा सन्तोष पाण्डेयलाई पुनः युवा तथा खेलकुद मन्त्री बनाएको विषयमा सामाजिक सञ्जालमार्फत आलोचना गरेका गुप्तालाई लोसपाले केन्द्रीय सदस्यबाट निष्कासित गरेको थियो। उनले भने, “पार्टीभित्र लोकतान्त्रिक प्रक्रिया कमजोर हुँदै गएको छ, एकै व्यक्तिलाई पटक–पटक मन्त्री बनाइराख्नु अवसरवादी चरित्रको प्रमाण हो।”
गुप्ताले आफूले १८ वर्षसम्म मधेस आन्दोलनमा सक्रिय भूमिका खेल्दा र आन्दोलनका लागि रगत, पसिना र आर्थिक स्रोत खर्च गर्दा पनि पार्टीले कहिल्यै योगदानको कदर नगरेको बताए। “बरु उल्टै निरङ्कुश शैलीमा कारबाहीको डन्डा लगाइयो,” उनले भने।
उनले मधेसको पहिचान, युवाको अधिकार, लोकतान्त्रिक शिक्षा र समग्र विकासका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। साथै, “नाममा ‘लोकतान्त्रिक’ राख्दा मात्रै नेताहरू लोकतान्त्रिक हुँदैनन्, अहिलेको लोसपामा केही व्यक्तिको सनकमा पार्टी चलेको छ,” भन्दै असन्तुष्टि जनाए।
लोसपा छोडे पनि आफू निकट भविष्यमा कुनै नयाँ प्रक्रिया वा पद्धतिबाट पुनः जनतामाझ फर्केर देश र मधेसको हितका लागि क्रियाशील रहने गुप्ताले स्पष्ट पारे।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया