काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण केही नेपालीसहित १३ जना एशियालीको ज्यान गएको छ। कुवेतस्थित नेपाली दूतावासले घटना बारे थप विवरण संकलन भइरहेको जनाएको छ।
दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार, विषाक्त मदिरा सेवनपछि बिरामी परेका दर्जनभन्दा बढी व्यक्ति विभिन्न अस्पतालमा उपचाररत छन्। “हाल करिब १२ देखि १५ जना उपचारमा छन्, केहीको मृत्यु भइसकेको छ। मृतकमध्ये कति नेपाली छन् भन्ने पुष्टि भइरहेको छैन,” आचार्यले बताए।
नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्ल ठकुरीले पनि घटनाको पुष्टि गर्दै मृतकमा नेपाली रहेको अनुमान गरे पनि यकिन संख्या अझै खुल्न नसकेको जानकारी दिए। उनका अनुसार, घाइतेहरू कुवेतका आदान, फर्वानिया र मुबारक अलकबी अस्पतालमा उपचाररत छन्।
कुवेती समाचार संस्था कुवेत टाइम्सका अनुसार, बुधबार भएको उक्त घटनामा शनिबारसम्म ६३ जना अस्पताल भर्ना भएका र १३ जनाको मृत्यु भएको छ। कुवेतमा मदिरा बिक्री र सेवन पूर्णरूपमा प्रतिबन्धित छ।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया