काठमाडौं । रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको मुद्दा पेशी परेको दिन गृह मन्त्रालयको कार्यकक्षमै न्याय परिषद्मा पेश हुने उजुरी तयार पारिएको दाबीप्रति गृह मन्त्री रमेश लेखकको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
गृह मन्त्री लेखकका निजी सचिव बद्रीप्रसाद तिवारीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ कि, “रुपन्देही जिल्ला अदालतमा लामिछानेको मुद्दा पेसी चढेको दिन न्याय परिषद्मा परेको उजुरी गृह मन्त्रीको कार्यकक्षमै तयार गरिएको र त्यसको प्रतिलिपि सचिवालयमार्फत पठाइएको भन्ने खबर विभिन्न सञ्चार माध्यममा प्रकाशित भई केही व्यक्तिले अभिव्यक्ति दिएका छन्। यसबारे सचिवालयले गम्भीर ध्यानाकर्षण गरेको छ।”
विज्ञप्तिमा अझ भनिएको छ कि, “सम्मानित अदालतलाई प्रभावित गरियो भन्ने किसिमका अभिव्यक्ति पूर्णतः भ्रामक, कपोलकल्पित र मनगढन्ते हुन्। यसले गृह मन्त्रीलाई तथ्यहीन दोषारोपण गरेको हो र सचिवालयले ती सबै दावी खण्डन गर्दछ।”
साथै, अदालत र न्याय परिषद् जस्ता सम्मानित निकायहरूको स्वतन्त्रता र कार्यक्षेत्रलाई गृह मन्त्रालय संवेदनशील रुपमा हेरेको र न्यायालयको गरिमा तथा सम्मानमा असर पर्ने कुनै पनि गतिविधि भएको नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसअघि बिहीबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्री लेखकमाथि न्यायालयलाई प्रभावित गर्न खोजेको आरोप लगाएको थियो।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया